इंग्लिस प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउने चेल्सीको सपना चकनाचुर भएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी टोटनह्यामसँग २–० ले पराजित भएसंगै उसको सपना चकनाचुर भएको हो ।

 

 
लिगका पछिल्ला १३ खेलमा चेल्सीको यो पहिलो हार हो । एकै सिजनमा लगातार १३ खेल जितेर क्लब कीर्तिमान बनाएको चेल्सी प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउनबाट एक जित पर थियो । तर चेल्सीको कीर्तिमान बनाउने सपनामा टोटनह्याम बाधक बन्यो ।

 
यो खेल जितको भए चेल्सीले आर्सनलले सन् २००१–२००२ को सिजनमा लगातार १४ खेल जितेर बनाएको कीर्तिमानसँग बराबरी गर्ने थियो । तर चेल्सीको यो सपनामा टोटनह्यामका डेल अली बाधक बने । अलीले पहिलो हाफको अन्तिम तथा दोस्रो हाफको नवौं मिनेटमा गरी दुई गोल गर्दै टोटनह्यामलाई २–० को जित दिलाए ।