विवाहको दिनलाई सम्भवतः मानिसको जीवनकै सबैभन्दा सुखद दिन मानिन्छ, तर अघिकांश जोडीका लागि यो दिनको ‘पूर्ण र उत्तम’ अन्त्य हुँदैन । हो, भर्खरै गरिएको एउटा सर्वेक्षणमा अधिकांश नवजोडीले विवाहको रात सुहागरात मनाउन सक्दैनन् । सर्वेक्षणको परिणामका अनुसार विवाहको दिन बेहुला रक्सी र जाँडले लट्ठ हुने भएकै कारण उनीहरू विवाहपछिको पहिलो यौन सम्बन्ध स्थापित गर्न असफल हुन्छन् ।
बेहुली निदाउनु र भोजमा हुने बहस आदिका कारण पनि यी जोडीहरूले यौन सम्पर्क गर्न नसक्ने बताइएको छ । बेलायतमा सञ्चालित यो सर्वेक्षणमा गएको तीन वर्षमा विवाह गरेका २ हजार १ सय ३८ जना मानिसलाई प्रश्न सोधिएको थियो । उनीहरूमध्ये आधाभन्दा बढी यानि ५२ प्रतिशतले विवाहको राति सेक्स गर्न नपाएको बताएका छन् । त्यसैगरी, १७ प्रतिशतले सेक्सका लागि विवाह समारोहपछि तीन दिनसम्म कुर्नुपरेको बताए ।
विवाहको राति सुहागरात मनाउन नपाएकामध्ये २४ प्रतिशतले यसको कारण बेहुला रक्सीमा मस्त भएको बताएका छन् । १६ प्रतिशतले बेहुली निकै थकित भएको र निदाएको कारण सेक्स गर्न नपाएको बताए भने १३ प्रतिशतले बेहुली रक्सीमा लट्ठ भएको कारण बताए । त्यसैगरी, ४ प्रतिशत विवाहमा बेहुला निदाएको बताएका छन् ।

११ प्रतिशतले सन्तानको ख्याल गर्नुपरेका कारण सुहागरात मनाउन नपाएको र ९ प्रतिशतले विवाह भोजमा भएको विवादका कारण यस्तो गर्न नपाएको बताए । त्यसैगरी, ९ प्रतिशतले विवाहको रात हनिमुन गन्तव्यको यात्रामै बिताएको बताएका छन्, जबकि सात प्रतिशतले रातभर पाहुनासँग पार्टीमै रमाएको उल्लेख गरेका छन् ।

यो सर्वेक्षण गर्ने भौचर कोड्स प्रोका बजार निर्देशक जर्ज चाल्र्सले भने, ‘विवाहको रात सुहागरात मनाइन्छ भन्ने तथ्य बिस्तारै विस्थापित हुँदै गएको छ ।’ ‘तनाव र दबाबका कारण त्यो दिन विवाह नै मुख्य प्राथमिकतामा पर्ने गरेको हुन सक्छ । अर्को कुरा अधिकांश जोडी विवाहअघि नै वर्षौंदेखि सँगै बस्दै आएका कारण सेक्सप्रति रुचि घटेको हुन सक्छ,’ उनले अगाडि थपे । राजधानी दैनिकमा समाचार छ ।