नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा असुलीमा सक्रिय गुण्डाहरुको समूह संलग्न रहेको प्रहरीले सुरुवाती अनुसन्धानबाट पत्ता लगाएको छ । सोमबार दिउँसो शान्तिनगरस्थित खरिबोटबाट निजी प्राडोमा चढेर बानेश्वरस्थित मूलसडकतर्फ निस्कने क्रममा तीन गोली प्रहार गरी गौचनको हत्या भएको थियो ।
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भएको मनोज पुनको समूहमाथि प्रहरीले अनुसन्धान बढाएको छ । गत वर्ष बुटवलमा पुनकै समूहले गोली हानेर युवा संघका जिल्ला अध्यक्ष तिवारीको ज्यान लिएको थियो ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या यही समूहले गरेको हुन सक्ने प्राराम्भीक अनुमान पनि प्रहरीले गरेको छ । प्रहरी स्रोतले गौचनको हत्याको जिम्मेवारी समेत पुनको समूहका एक सदस्यले नेपाल बाहिरबाट फोन गरेर लिएको जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुसार अर्को अनुसन्धानको तीर गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलको समूहमाथि केन्द्रित गरिएको छ । प्रहरी स्रोतका अनुसार ठेकेदार तथा व्यापारीहरुबाट करोडौँको मात्रामा रकम असुल्दै आएको बाहुनको समूहले तीन दिनअघि मात्रै गौचनमाथि हातपात गरेका थिए । प्रहरी स्रोतले बाहुनको समूहका गुण्डाहरुले मागेजति पैसा नदिएको भन्दै गौचनलाई कुटपिट गरेको तथ्य सार्वजनिक गरेको छ ।