घर तथा कोठाको सजावटमा भित्ता (वाल) को अहम् भूमिका हुन्छ । साधारण देखिने कोठालाई पनि भित्तामा एउटा मात्र पेन्टिङ राखिएको छ भने त्यसले कोठाको सुन्दरता वा शोभा बढाइदिन्छ । कोठाभित्र पस्दा पहिला नजर महँगा समान तथा फर्निचरभन्दा वाल पेन्टिङमै जान्छ । यसैले भित्ताको सजावटका लागि विभिन्न किसिमका ‘डेकोरेटिभ प्रडक्ट’हरुको प्रयोगमा मान्छेको रुची तथा सोख फरकफरक भेटिन्छ । तथापि भित्तामा सुन्दरता थपेर कोठाको सजावट र शोभा बढाउन ‘पेन्टिङ’ नरुचाउने सायदै होलान् । यद्यपि यो अलिक खर्चिलोे सजावट भएकाले यसलाई सोखसँग जोडेर पनि हेर्ने गरिन्छ ।

 
कोठामा सजावटका लागि महँगा सामाग्री जोड्नेहरुको सूचीमा पेन्टिङ छुट्ने सम्भावना लगभग शुन्य जस्तै हो । किनकी यो व्यक्ति र घरको प्रतिष्ठाको प्रतिबिम्ब पनि हो । घर सजाउन वा कोठाको आकर्षण थप्न पनि पेन्टिङ उत्तिकै महत्वपूर्ण हुने मान्छन् इन्टेरियर डिजाइनरहरु ।

राम्रो पेन्टिङ के र कस्तोलाई भन्ने कुरा व्यक्तिगत प्रकृति र उसको रुचीमा भर पर्ने हुन्छ । कसैलाई कोठाको रंगसँग मेल खाने पेन्टिङ मनपर्न सक्छ भने कसैलाई कोठामा राखिएको कुनैपनि वस्तुसँग अमिल्दो वा भिन्न किसिमको पेन्टिङ मन पर्न सक्छ । त्यसैले आफ्नो रुची अनुरुप सकारात्मक सोच तथा भावना जगाउने, मनमा आनन्द महसुस गराउने किसिमका पेन्टिङ घरमा राख्नु उचित हुन्छ ।
प्रायः उच्च वर्गका व्यक्तिले पेन्टिङ किन्ने गरेको भए तापनि पछिल्लो समयमा सबै वर्गमा यसप्रतिको मोह बढ्दै गएको छ । यसैले कस्तो वर्गका समूहले भन्दा पनि कुन उमेर समूहले पेन्टिङमा रुचि बढि देखाउछन् र खरिद गर्छन् भन्ने कुरा बढि महत्वपूर्ण हुने यस पेशामा आवद्ध व्यक्तिहरु बताउँछन् ।

नेपाली पेन्टिङ नै २० लाखमाथिका
इन्टेरियर सजावटका लागि २०००–२५०० रुपैयाँदेखिकै पेन्टिङ पनि नपाइने होइनन् । तर नेपाली ‘एमेच्योर’ कलाकारले बनाएका यस्ता पेन्टिङको नै औसतमा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्ने चित्रकार भानु भट्टराई बताउँछन् । फाइन आर्टका पढेर पछिल्लो ५ वर्षदेखि व्यापारिक रुपमा पेन्टिङ बनाउँदै आएका उनले अहिले २०–२५ हजार रुपैयाँको रेन्जमा आफ्ना पेन्टिङ बिक्री गर्ने गरेका छन् ।
तर कलेक्शनको सोख हुनेले भने नेपालका साथै अन्तरराष्ट्रियस्तरमा ख्याती कमाएका चित्रकारहरुको पेन्टिङ घरको भित्तामा झुन्ड्याउन खोज्छन् । कन्टेमपोररी पौभा चित्रकलामा अहिलेका चर्चित नेपाली चित्रकार समुन्द्रमान शाक्यको पेन्टिङ १८–२० लाख रुपैयाँ भन्दा माथि बिक्री भएको जानकारहरुको भनाइ छ ।
अन्तरराष्ट्रिय बजारमा समेत चिनिएका नेपालका वरिष्ठ तथा चर्चित चित्रकार शशी शाहको पेन्टिङको न्यूनतम मूल्य नै १ लाखमाथि पर्छ भने अधिकतम निश्चित छैन । त्यस्तै, किरण मानन्धर, उत्तम नेपाली, कृष्ण मानन्धर लगायतका चित्रकारहरुको पेन्टिङको मूल्य पनि ५० हजार रुपैयाँमाथि शुरु हुन्छ ।

केले निर्धारण गर्छ मोल
कलाकारले आफ्नो भावनालाई रंगको सहायताले क्यानभासमा पोतेपछि पेन्टिङले स्वरुप पाउँछ । तर यो तयार पार्न कलाकारले घन्टा, दिन वा महिनौं पनि खर्चिएको हुन्छ । सामान्यतया रंगको किसिम तथा गुणस्तर (आयल, एक्रेलिक, वाटर), क्यानभासको मिडिया (कागज, कपडा, छाला आदि) लगायतले पेन्टिङको मूल्य फरक पर्छ ।
पेपरमा बनाइने वाटर कलर पेन्टिङको आयु अन्यभन्दा छोटो (बढीमा ३०–४० वर्ष) हुने हुँदा यो अलिक सस्तो पर्छ । सामान्यतया ३०० देखि ४०० वर्ष सम्मको आयु रहने आयल पेन्टिङ सबैभन्दा महँगो पर्छ । प्लाष्टिक कलरमा आधारित एक्रेलिक वाटर कलरभन्दा लामो समय टिक्ने भए पनि आयल कलर जति हुँदैन । यद्यपि पेन्टिङको मोल कलाकारको मेहनतभन्दा बढी उसको नाम अर्थात् ख्यातिका आधारमा हुने हुँदा आकार हेरेर मूल्य अनुमान नहुने वस्तु हो पेन्टिङ ।

सजावटमा कस्तो पेन्टिङ उपयुक्त
सजावटका पेशाकर्मी (इन्टेरियर डिजाइनर आदि) को सुझावमा कोठा वा घरको स्थानअनुसार राखिने उपयुक्त किसिमको पेन्टिङ फरकफरक हुने गर्छ । सुत्ने कोठामा माया तथा प्रेम झल्काउने खालको पेन्टिङ राख्न सकिन्छ, जस्ले वैवाहिक सम्बन्धलाई अझ गाढा बनाउँछ । यस्ता पेन्टिङकहरुमा जोडि चरा, फूल इत्यादिको पेन्टिङ हुन सक्छ । यदि पेन्टिङमा जोडा चित्र छैन भने एउटै भित्तामा दुई सेट पेन्टिङ जोडा बनाएर पनि राख्न सकिन्छ ।
त्यस्तै, बैठक कोठा (लिभिङ रुम) मा फेमिली पोटरेट पेन्टिङ राख्नु उचित हुन्छ । यस्तो पेन्टिङले कोठाको शोभा पनि बढाउछ । सकेसम्म जङ्गली जनावरका तथा ‘नेगेटिभ इनर्जी’ सिर्जना गर्ने खालका पेन्टिङ कोठामा राख्नु राम्रो नहुने इन्टेरियर डिजाइनर गिता महर्जन बताउँछिन् ।


बैठक कोठाको सिटिङ एरिया भन्दामाथि ट्रिप्ट पेन्टिङ (एउटै पेन्टिङलाई तिन भागमा वा तीनवटा फ्रेम प्रयोग गरेर बनाइएको हुन्छ) राख्दा आकर्षक देखिन्छ । घरको कोरिडोर वा प्यासेजमा इन्स्पिरेशनल पेन्टिङहरु राख्न सकिन्छ ।
भित्तामा झुण्ड्याउने पेन्टिङ र भित्ताको रंगको संयोजन कन्ट्रास्ट (स्पष्ट फरक छुट्टिने) तर एकअर्कालाई कम्प्लिमेन्ट गर्ने खालको हुनुपर्छ । जस्तै भित्ता सुन्तला रंगको छ भने त्यसमा निलो सेड पेन्टिङको प्रयोग गर्दा भित्ताको आकर्षण अझ बढ्छ । यदि भित्ताको रंग र पेन्टिङको रंग उस्तै छ भने भित्ता रंग पेन्टिङभन्दा गाढा या फिका हुनुपर्छ ।

पेन्टिङ राख्दा ध्यान दिनुपर्ने कुराहरु
– पेन्टिङ खरिद गर्नुभन्दा अगाडि घरको कुन भित्तामा पेन्टिङ झुण्ड्याउने हो त्यो निश्चित गर्नुपर्छ । यसो गर्दा पेन्टिङको आकार रंग र भित्ताको रंगसँग मिलाउन सजिलो हुन्छ ।
– पेन्टिङ जस्तोसुकै भए पनि पेन्टिङको फ्रेमलाई भने कोठाको सजावटसँग मिल्ने रोज्नुपर्छ ।
– पेन्टिङ भित्तामा झुण्ड्याउँदा त्यसमा पर्याप्त प्रकास पर्ने गरि राख्नुपर्छ । पर्याप्त प्रकाश नपर्दा पेन्टिङको आकर्षण बढ्नुको सट्टा ‘डल’ देखिन्छ ।
– पेन्टिङ वर्षौंसम्म टिकाउन वा आयु लामो राख्न यसलाई कडा प्रकाश, ओस तथा सिधै घाम पर्ने ठाउँमा राख्नु वा झुण्ड्याउनु हुँदैन । -प्रोपर्टीटुडेबाट