किरातीको इतिहास भेटिएको छैन भनिन्छ । तर खास कुरो– खोजिएको छैन । २९ देखि ३१ पुस्तासम्म शासन गरेको जातिको इतिहास छैन, भेटिँदैन भन्दा आजको पुस्ताले सजिलै किन पत्याइरहेको छ त्यो बरु आश्चर्यको कुरा हो ।

कुनै पनि विद्वान्ले लेखेको नेपालको इतिहास अहिलेको चारभञ्ज्याङभित्रको खाल्डोबाट सुरु हुन्छ । त्यहाँ पानीको ठूलो दह थियो । गोपाल वंशीहरूलाई दक्षिणबाट कृष्ण भगवानले लिएर आए । दहको पानी खोलिदिए । मानिस बस्नयोग्य बनाए । गोपालहरूलाई शासक बनाएर राखिदिए । बस्, इतिहास सुरु भयो । त्यसरी इतिहास लेख्ने प्राय: हिन्दु विद्वान्हरू नै थिए । तर यस क्षेत्रमा बारम्बार जाने गरेको भूकम्पतर्फ ती विद्वान्हरू घोत्लिएका भए दह बन्ने र खोलिने कारण अर्कै पत्ता लाग्ने थियो होला । त्यसपछि महिषपालको शासन सुरु भयो । पूर्वबाट किराती आए । महिषपालको भुवन सिंलाई हराए र किराती राजा भए । धेरै पछि फेरि दक्षिणबाटै लिच्छवी आए । किरातीलाई हराए । राजा उनै बने । मल्ल आए राजा भए । शाह आए राजै भए । बस्, इतिहास समाप्त भयो । यति नै हो नेपालको इतिहास । पूर्व कहाँबाट किराती आए ? लिच्छवी र मल्ल को हुन् ? शासकमध्ये धेरैले आफ्नो सुरुको नाम परिवर्तन गरिसकेका छन् । तर किरातीले आजसम्म पनि न त स्थान छाडेका छन् न आफ्नो जातिगत नाम नै । आफूलाई अझै उनीहरू किराती नै भन्दै छन् । तर यिनको इतिहास छैन ।

यो जातिको इतिहास खोजी गर्न यही जातिको ‘मुन्दुम’ लाई पल्टाए पनि विभिन्न बाटाहरू भेटिन्छन् । यसका साथै संस्कृत वाङ्मयभित्र पसेर किरातीको इतिहास स्वामी प्रपन्नाचार्य खोज्दै थिए । उनको जीवनको अन्तिम घडीमा संस्कृत वाङ्मयभित्रै ‘तपाईंपछि किराँतीको खोज गर्ने कुनै किराँती छन् ?’ भनेर सोधिएको पंक्तिकारको प्रश्नमा झोक्किँदै उत्तर दिएका थिए, ‘क्षत्री–बाहुन त छैनन्, केको किरातीको कुरा ?’ आज उनी छैनन् । तर अर्काे यस्तै एक प्रश्नको उत्तरमा भाषाविद् डा. तारामणि राई भन्छन्, ‘हामी किरातीको ‘पाछा र सामै’ भित्र पस्दै गर्दा संस्कृत भाषाभित्र नपसी नहुने देखिँदै छ ।’ तयस्तै ‘नछुङ’ लाई मुन्दुमको स्रोतका रूपमा लिइएको छ ।

‘नछुङ’ प्राय: सबै जातिमा हुने गर्छ । यसका नाम मात्र फरक हुने गर्छ । खस जातिमा यसलाई ‘धामी’ भनिन्छ भने राई जातिमा ‘डोपा’ । लिम्बुले ‘फेदाङमा’ भन्छन् भने सुनुवारले ‘नासो’ । जिरेलले ‘फोक्पो’ र तामाङले ‘बोन्पो’ । गुरुङले ‘ल्किवे’, चेपाङ र थकालीले ‘पाँडे’ र थारूले ‘गुरवा’ अनि भोटेले ‘लोवेन’ भन्छन् । (मुन्दुम : सृष्टिकथा, सम्पादक भोगीराज चाम्लिङ)

मुन्दुमअनुसार किरातीको नछुङ अलिक भिन्न प्रकारको देखिन्छ । यसले मानव सृष्टिकै कथा भन्छ । तर अलिक अगाडि बढेर यसले किरातीसँग जोड्छ । यसरी किरातीसँग जोडेर भनेका कथाले एउटा दर्शनको सिर्जना गरेजस्तो लाग्छ । खोटाङ जिल्लाको हलेसीनजिकै रहेको ‘तुवाचुङ र जायजुम’ डाँडामा किरातीका आदिमाताहरूले तान बुनेको कथा र मुन्दुमलाई जोडेर हेर्दा यस दर्शनले मानवजातिको विकासको कृषियुगबाट आफ्नो कथा सुरु गरेको छ ।

यसै क्रममा सो पुस्तकको भूमिकामा प्रा.डा. नोबलकिशोर राईले ‘हजार माइलको यात्रामा’ शीर्षक दिएर लेखेका छन्, ‘दुईखुट्टेहरूको उत्पत्ति र विकासक्रम विज्ञानको प्रादुर्भावभन्दा लाखौं वर्ष पहिलेको कुरा भएकाले नै हाम्रा पुर्खाहरूले भनेका र गरेका अभ्यासहरू जेठा हुन् । यही आधारमा रचना भएको हाम्रो पुख्र्याैली अभ्यास र ज्ञान नै मुन्दुम हो । यी मुन्दुमहरू नै हाम्रा श्रुति र स्मृति हुन् ।’

(कान्तिपुर दैनिकबाट सभार,कान्तिपुरमा प्रकाशित पुरा समाचार हेर्न यहाँ क्लिक गर्नुहोस)