भक्तपुर, २५ असोज । माटो उत्खनन् गरेर अवैध रुपमा बिक्री गर्न लैजाँदै गरेका १६ वटा टिपरलाई चार दिनपछि आज प्रहरीले कारबाही नै नगरी छाडिदिएको छ ।

कुनै पनि सरकारी निकायलाई करसमेत नतिरी अवैध रुपमा काठमाडौँतर्फ माटो लैजाँदै गरेका ती टिपरलाई महानगरीय प्रहरी वृत्त थिमिले गत आइतबार नियन्त्रणमा लिएको थियो ।

प्रहरीलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र चाँगुनारायण नगरपालिका कार्यालयले दबाब दिएपछि प्रहरी वृत्त थिमिले कारबाही नै नगरी आज साँझ १६ वटै टिपरलाई छाडिदिएको हो ।

चाँगुनारायण नगरपालिकाले वडा नं ८ स्थित महेन्द्रग्राम माध्यमिक विद्यालय निर्माणका क्रममा ढिस्को खन्दा आएको माटो व्यवस्थापन गर्न भन्दै ७० वटा टिपरको नम्बरसहित माटो व्यवस्थापन गर्न स्वीकृत दिएको पत्र देखाउँदै व्यवसायीले अवैध माटो ओसारपसार गर्दै आएका थिए ।

जिल्ला समन्वय समितिको अनुमति बिना माटो ओसारपसार गर्न नपाइने र माटो ओसारपसार गर्दा स्थानीय तहमा कर बुझाउनु पर्ने प्रावधानसमेत उल्लंघन गरेर माटो बिक्री गरिँदै आइएको थियो ।

जिससअन्तर्गतको खानी शाखाका अनुसार नगरपालिकाले पत्र लेखेकै भरमा निःशुल्क माटो पठाउन नपाउनेमा जिल्ला प्रशासन, प्रहरी, जिल्ला समन्वय समिति र नगरपालिकाको मिलेमतोमा सयौँ टिपर माटोको अवैध रुपमा बिक्री गरिएको छ ।

प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले प्रहरीले नियन्त्रणमा लिएको माटो बिक्रीका लागि काठमाडौँ पठाउन नपाइने तर भक्तपुर मै व्यवस्थापन गरिने भन्दै छाडिदिन निर्देशन आएपछि माटो बोकेका टिपर छाडिएको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले प्रहरीले नियन्त्रणमा लिएको माटोलाई फर्काएर भत्केको पाटीबाट नगरकोट जाने बाटोमा देखिएको खाल्डोमा हाल्न निर्देशन दिएको बताउनुभयो । माटो बिक्री गर्न नपाइने भए पनि काठमाडौँ लगेर माटो बिक्री गर्ने गरेको पाइएको उल्लेख गर्दै उहाँले अब त्यहाँको माटोलाई काठमाडौँ लान नदिई चाँगु मै व्यवस्थापन गरिने बताउनुभयो ।

व्यवसायीले भने निःशुल्क माटो उत्खनन् गरेर नगरपालिका र जिससलाई कर नतिरी अवैध रुपमा काठमाडौँ लगेर प्रतिटिपर रु चार हजार माटो बिक्री गर्दै आएका थिए ।