गाजा सिटी, प्यालेष्टाइन प्रशासित क्षेत्र, २६ असोज । प्यालेष्टिनी दुई प्रतिस्पिर्धी हमास इश्लामिक समूह र फताह समूहबीच बिहीबार करिब एक दशकपछि पुनर्मिलन गर्ने सहमति भएको प्यालेष्टिनी राष्ट्रपति महमद अव्वासले बताउनुभएको छ ।

अव्वासले बिहीबारको छलफलपछिको सहमति नै सन् २००६ पछि छुट्टिएका प्रतिस्पर्धी प्यालेष्टिनी समूहको पुनर्मिलनका लागि ‘अन्तिम सहमति’ भएको बताउनुभएको छ । सन् २००६ मा भएको विभाजनपछि हमासले गाजा क्षेत्र र अव्वासको प्यालेष्टिनी अधिकारीले वेस्ट वैङ्कमा आ–आफ्ना प्रशासन केन्द्र बनाएर अघि बढेका थिए । तर उक्त बर्ष भएको निर्वाचनमा इश्लामिक हमास समूहले प्यालेष्टिनी संसदमा पहिलो पटक सहभागी भएपनि पराकिलो अन्तरले फताहमाथि विजय हाँसिल गरेको थियो ।

स्थापनाको बर्षदेखि नै फताहमाथि हमास समूहले प्रभाव जमाउन सफल भएपछि सन् २००७ मा दुई समूहले आफ्नो प्रभाव पुष्टि गर्न भएको विवादमा भएको रक्तपातपूर्ण द्वन्द्वका कारण गाजा क्षेत्रमा ठूलो तनाव सिर्जना भएको थियो ।
फताह र हमास समूहबीचको संयुक्त सरकार पनि २००७ को जुलाईमा भएको एक हप्ता लामो हिंसात्मक द्वन्द्वका कारण भङ्ग भएको थियो ।

अव्वासले संयुक्त सरकारलाई विघटन गरी गाजा क्षेत्रमा सङ्कटकालको घोषणा गर्नुभएको थियो । तर हमासका लडाकूले अव्वास पक्षधर शक्तिलाई नियन्त्रणमा लिएका थिए । उक्त घटनालाई राष्ट्रपतिले राज्य विद्रोहको संज्ञा दिनुभएको थियो ।
तर सन् २०११ मा दुवै समूहले अन्तरिम सरकार बनाउने र नयाँ निर्वाचन गर्ने सहमति भएपति विवाद केही मथ्थर भएपनि सहमतिको कार्यान्वयन गर्न ढिलाई भई सन् २०१४ मा आएर मात्र भएको थियो ।
अव्वास नेतृत्वको प्यालेष्टिनी स्वतन्त्रता संगठन र हमासको संयुक्त सरकार गठन सन् २०१४ को जुनमा भएको थियो । तर अव्वासले हमासमाथि समानान्तर प्रशासन खडा गरेको आरोप लगाएपछि केही महिनामै संयुक्त सरकार रहन सकेन ।
इजरायलको ५० दिन लामो हवाई आक्रमणपछि बनेको संयुक्त सरकारले अगस्तमा आइपुग्दा विघटन भएको थियो ।
हमासले सन् २०१७ मा आफ्नोे घोषणापत्रमा विशेष सुधार र इजरायललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेपछि पुन एक पटक दुई प्रतिस्पर्धि समूहबीच पुनर्मिलन हुने सहमति बनेको छ ।