इटहरी, २६ असोज (रासस) ः उद्योग मन्त्री सुनिल थापाले देशको समग्र विकास र असल राजनीतिक चरित्रसहितको प्रजातान्त्रिक नैतिक आचरण भएको शक्ति निर्माणका लागि बल्ल बाटो खुल्ला भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का महामन्त्री एवं उद्योग मन्त्री थापाले आज सुनसरीको इटहरीमा स्थानीय सञ्चारकर्मीसँगको कुराकानीका अवसरमा यो विषयलाई नेता सूर्यबहादुर थापाले २० वर्ष अघि नै प्रजातन्त्रिक शक्तिबीचको एकताको परिकल्पना गर्नुभएको स्मरण समेत गराउनुभयो ।

पछिल्लो समयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एवं नयाँ शक्ति पार्टी मिलेर बाम एकता भएको सन्देश बाहिर आउनु नै प्रजातान्त्रिक शक्ति एक बन्नुपर्ने सन्देशले सार्थकता प्राप्त गरेकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

बाम एकताको अभ्यासले प्रजातान्त्रिक शक्तिलाई खासै असर नपार्ने र आउँदै गरेको प्रदेश एवं संघको निर्वाचन परिणाममा पनि तात्विक भिन्नता नहुने दाबी गर्नुहुँदै मन्त्री थापाले साम्यवादीबीचको यो एकताले प्रजातन्त्रवादी शक्तिलाई हानी होइन फाइदा नै पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।