आदरणीय दिदि प्रणाम,

तिम्रो आत्माले त्यहा शान्ति पाइरहेको छ भनी कामना गरेको छु।हुन त तिमिलाई यो पत्र लेख्नुको कुनै औचित्य छैन किनभने तिमी मेरो पत्र पढ्न सक्दैनौ र मलाई कहिल्यै जवाफ मिल्ने छैन।तर मनले आज पत्र नलेखी बस्न मानेन।जब भित्तामा रहेको क्यालेन्डरले तिहार आएको संकेत दिन थाल्यो तब झन तिम्रो याद खहरे बनेर ओर्लियो अनि जेलभित्रको चिसो भुइबाट यो पत्र लेख्न बिबश भए दिदी।

दिदि,

यो जेलभन्दा बाहिर पक्कै पनि तिहारले पाइला टेकिसक्यो होला।हिजो मात्र हवल्दार सापलाई आफ्नो दिदिले जसरी पनि भाइटीका थप्न आउनु भनेर फोनमा फोनमा भन्दै हुनुहुन्थ्यो।अनि म पनि तिमिलाई सम्झेर धेरै रोए।सानोमा म रुदा तिमिले केटा मान्छे भएर रोएको सुहाउदैन भन्ने सिद्दातन्तले आज तिमिलाई नै सम्झेर रुदा केही काम गरेन दिदी।

सानोमा बुबा बितेपछी आमा त सधै शोकमा बस्नुहुन्थ्यो।त्योबेला तिहार आउदा तिमि धेरै खुशी हुन्थ्यौ अनि म पनि।अरुको घरमा जस्तो सधै मिठोमिठो कुरा हाम्रो घरमा कहिल्यै पाक्दैनथ्यो।तर तिहारमा भएपनी आफ्नो भाइलाई मिठो खुवाउछु भनेर तिमि पैसाको जोहो गर्न दशै सकिने बित्तिकै जिम्माल बाजेको खेतमा धान काट्न जान्थ्यौ।भाइटीकाको दिनमा तिमि आफैले मलाई नुहाइदिन्थ्यौ अनि सफा कपडा लगाइदिन्थ्यौ।तिमि मेरो जिन्दगी रंगीन होस भन्दै मेरो निधारमा सप्तरंगी टीका लगाइदिन्थ्यौ।आफैले बनाएको चेप्टो चेप्टो सेल ठुलो टपरीमा हालेर दिन्थ्यौ।तिम्रो त्यो ठुलो टपरीमा खानेकुराहरु भरिदैनथ्यो त्यसैले तिमिले आफ्नो माया समेत भरेर दिन्थ्यौ।तिमिले आफुले दुख गरेर कमाएको पैसाले मलाई एउटा रुमाल दिन्थ्यौ,म त्यो रुमाल गाउभरी सबैलाई देखाउदै हिड्थे।

तर दिदि,मसङ्ग त तिमिलाई दक्षिणा दिने समेत पैसा हुदैनथ्यो।म तिमि जस्तै काम गर्न सक्दिनथे।अनि म रुन खोज्दा तिमिले “मलाई मेरो भाई र मेरो भाइको।खुशी देख्न पाए अरु चाहिदैन” भन्थ्यौ।अनि मैले त्यो दक्षिणाले कहिल्यै किन्न नसक्ने अमुल्य माया दिन्थे तिमिलाई।पक्कै पनि तिमिले त्यो क्षण मैले जस्तै सम्झेकी छ्यौ होला है त्यो बादल भन्दा माथिको देशबाट।

दिदी

खासमा बुबा बितेपछी नै हो है हाम्रो जिबनमा कालो ग्रहण छाएको।फोक्सोको क्यानसरबाट बुबाले आफ्नो बाटो गर्नुभएपछी आमाले पनि आफुलाई सम्हाल्नु भएन।त्यसपछी तिमी नै मेरो आमाबाबु भएर मलाई माया गर्थ्यौ।आफ्नो लाउला खाउला भन्ने उमेरमा निमेक,मजदुरी गरेर भएपनी मलाई सधै राम्रो लगाउन दिन्थ्यौ,मिठै खुवाउथ्यौ।तिमी किन यत्ती धेरै मलाई माया गर्थ्यौ दिदी।आमाले सधै चाहनुहुन्थ्यो,हजुरले पनि पढोस अनि आफ्नो जिन्दगी बनाउन तिर लगोस तर तिमिले आमाको कुरा कहिल्यै सुनिनौ।जहिल्यै ममा आफ्नो सपना भेट्यौ।आफ्नो सबै सपना अनि रहर मेरो सोच्यौ।किन दिदी तिमिले आमाको कुरा नमानेको त्यो बेला?

दिदी,

तिमिले मलाई धेरै पढाएर डाक्टर,इन्जिनियर बनाउछु भन्थ्यौ।छिमेकीहरुले आफै पढेर डाक्टर बन भन्दा तिमिले म डाक्टरको दिदी हुनुमै गर्व गर्नेछु भन्थ्यौ तर दिदी मैले तिम्रो सपना पूरा गर्न सकिन।

दिदि,एकदिन त्यो पल्लाघरे श्यामे मुम्बाईबाट आएपछि तिमिलाई उसले अनेकथरी सपना देखायो।तिमिपनी उसको लोभलाग्दो कुरामा नजादिदो तरिकाले फस्यौ।मैले अनि आमाले तिमिलाई धेरै भनेका थियौ दिदी।तर उसङ्ग बिहे गरेर गएपछी तिमिले मेरो सपना पूरा हुने सपना देखेका थियौ जुन सपना पछि गएर बालुवाको घर जस्तै ढल्न पुग्यो। तिमिले भनेकी थियौ त्यो बेला श्यामे सङ्ग बिहे गरेर मुम्बई गएपछि म आफै काम गर्नेछु अनि मेरो भाईलाई धेरै पढाउनेछु। तर तेस्तो त कहिल्यै हुन पाएन दिदी।

थाहा छ दिदी?तिमी श्यामेसङ्ग मुम्बई हिडेको बेला आमा र म कति रोएका थियौ तर तिमी भनेर मुकुराएर बिदा भएकी थियौ।आज सोच्दै छु दिदी,तिमीले हासेर यो गाउठाउ छोडेको त त्यो हाम्रो अन्तिम भेट हुनलाई रहेछ।तर तिमिले श्यामेसङ्ग आफ्नो लागि बिहे गरेका थिएनौ।केवल मेरो सपना पूरा गर्नको लागि मात्र बिहे गरेकी थियौ।मेरो इच्छा अनि खुशीको लागी,मलाई अगाडि बढेको देख्नको लागि तिमिले आफ्नो इच्छाहरुलाई पर धकेल्दै बिहे गरेकी थियौ।तिम्रो त्यो महानता म युगौयुगसम्म सम्झिरहनेछु दिदी।

दिदी,

एकदिन हाम्रो घरमा एकजना हुलाकी आयो तिम्रो चिट्ठी बोकेर।तिम्रो सम्झनामा सधैभरी रोईरहेकी हाम्रो आमाले त्यसदिन अराम पाउनुभएको थियो।आमा र म निकै खुशी थियौ त्यो चिठी हातमा लिदासम्म।जब मैले पत्र पढेर आमालाई सुनाए तब आमा त ढल्नुभयो सधैको लागि।तिम्रो त्यो बेदना अनि तिमिले सहनुपरेका पिडाका अनुभव आमाले सुन्न सक्नुभएन।जब तिमिलाई त्यो श्यामेले एउटा मुम्बईको कोठीमा बेचेको कुरा म पढ्दै थिए तब मेरो नजर भन्दा पहिले मेरो आँसु पुगेको थियो पत्रमा।

दिदि,तिमि मलाई बाच्न सिकाउने मान्छे थियौ।तिमिबाट नै मैले जीवन बाच्ने प्रेरणा पाएको थिए

तर तिमिले त्यो पत्र लेखेसङ्गै आफुले आत्महत्या गरेर मर्ने कुरा लेख्दा म आफै छागाबाट खसेजस्तै भएको थिए।मैले पनि आफुलाई सम्हाल्न सकिन दिदी त्यो बेला।धेरै रोए त्यो दिन मपनी ।तर मेरो आँसु देख्ने,पीडा सुन्ने कोहि थिएन त्योबेला।किनकी आमा समेत तिम्रो ठाउमा आइपुगेको थियो त्योबेला।

दिदि

त्यसपछीको मेरो दिन झन कति कष्टकर भयो त्यो मलाई मात्र थाहा छ।म त यो संसारमा नितान्त एक्लो थिए।मैले आफुलाई सम्हाल्न एकदमै गाह्रो परिरहेको थियो।मेरो आफ्नै जीवन सरहको मान्छे आमा र मलाई आफ्नो जीवन सरह मान्ने मेरो दिदी यश धर्तीबाट धेरै पर गैसकेका थिए।

दिदी,

कति दिन भोकै अनि कति दिन आँसु पिएर बिताए मैले।एकदिन श्यामे गाउँ फर्केपछी भने मैले आफुलाई सम्हाले।अनि रोजे एउटा फरक बाटो जुन ममा देखेको सपना भन्दा धेरै पर थियो।दिदी,मैले त भेनाजु भन्नुपर्नेलाई मान्छेको हत्या गरिदिए।ताकि कुनै पनि चेलीले भोलि मेरो दिदिको जस्तो नियती भोग्न नपरोस।

दिदी

के मैले गरेको यो हत्या जस्तो कामबाट तिमी दुखी भएकी त छैनौ।जसले आफ्नो सिन्दुरलाई नोटको लोभमा परको लागि खाटमा सजिने नारी बन्न बाध्य बनायो त्यस्तो मान्छेले हत्या जस्तो सजाय नै पाउनुपर्छ भन्ने सोचेर हत्या गरेको हु दिदी।मैले तिम्रो सिन्दुरलाई जानीजानी खोसेको हु किनकी उसले तिमिलाई धुलो सम्झियो आफ्नो सिन्दुर सम्झेन।यदि मैले गरेको यो कामलाई तिमी अपराध मान्छ्यौ भने म तिमिले जस्तोसुकै सजाय दिएपनी भोग्न तयार छु।

दिदी,

आज साढे पाचबर्ष बितिसक्यो मैले तिम्रो न्यानो स्पर्शबिना जेलको यो चिसो भुइमा जीवन बिताएको।अझै कतिबर्ष बिताउनुपर्छ थाहा छैन।तर म खुशी नै छ।मैले तिमिले भनेजस्तै डाक्टर बन्न नसकेपनी एउटा दिदिको जलिरहेको आत्मालाई शान्त पार्न भएपनी हत्यारा भए।

आफुले सोचेजस्तै कहाँ हुदोरहेछ र है।तिमिले ममा के कस्तो सपना देखेका थियौ अनि म आज कस्तो अवस्थामा आइपुगे।दिदी,यो जुनि यस्तै भयो।अर्को जुनिमा पनि म तिम्रै भाइ भएर जन्मिन पाउ।यदि साच्चिकै भागवन हुदोरहेछ भने म यही माग राख्दछु त्यो भागवनसङ्ग।के मलाई तिमी आफ्नो भाइ मान्न तयार छौ?के तिमी मलाई सानोमा माया गर्ने मेरो त्यो दिदी जस्तै बन्नेछौ?नाई नभन ल दिदि।

दिदी,

यो तिहारमा तिमि मलाइ बोलाउन सक्छयौ,न तिमिले बोलाएपनी म आउन नै सक्छु।तर तिमिले कुनै चिन्ता नगर्नु है।म पनि स्वर्गमै आएपछि म तिमिलाई तीजको दर खान बोलाउनेछु।तिमी आउनेछौ मेरो आगनमा अनि मेरो आगन उज्यालो हुनेछ।अनि तिमी मलाई भाइटीका लगाउनेछ्यौ त्यो बचपनको बेला जस्तै।मलाई थाहा छ दिदी तिमि मलाई कहिल्यै भुल्ने छैनौ किनकी म तिम्रो जिन्दगी थिए अनि म पनि तिमिलाई कहिल्यै भुल्ने छैन किन कि तिमिपनी त मेरो जिन्दगी थियौ।दिदी,झन धेरै लेख्छु त्यत्तिनै आँसु झरिदिन्छ।त्यसैले अब म धेरै लेख्न चाहन्न।सधै तिम्रो आत्माले शान्ति पाओस यहि कामना गरिरहन्छु।

उहीँ तिमिलाई धेरै माया गर्ने तिम्रो हत्यारा भाइ

जेलभित्रको चिसो भुइबाट

केशु “असफल” मगर

निस्दी गा.पा.०६,पाल्पा