कार्तिक महिनाको मासिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सातौं घरमा रहेको सूर्यको प्रभावले मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना देखिन्छ । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिंदैन । व्यवसायिक÷व्यापारिक क्षेत्रमा रहेका नजिकका साथीभाइ र कामदारसँग अविश्वास बढ्ने छ । घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । तर राशिस्वामी मङ्गलको अनुकूल प्रभाव रहने छ । पेसा र व्यवसायमा देखिएका अड्चन र बाधा हटाउन तथा शत्रुदमन गर्न प्रयास गरिने छन् । नवमेश बृहस्पति पनि सातौं भावमा नै रहेकाले विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । सुखद यात्रा हुने सङ्केत पनि छ । किनमेलका क्षेत्रबाट लाभ प्राप्त हुनेछ । चतुर्थ स्थानको राहुका कारण यात्रा कष्टकारक हुनेछ । अवाञ्छित मार्गलाई अवलम्बन गरी धनार्जन गर्ने प्रयत्न गर्नु हुँदैन । समग्रमा समय राम्रै भए पनि वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १५, १६, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । राशिस्वामी शुक्रले यस महिना पाँचौं भावमा डेरा जमाएकाले विपरीत लिङ्गीप्रति आकर्षित भइने छ । आकस्मिक रूपमा हितकारी घटना घट्न सक्छ । सामाजिक प्रतिष्ठा र सुखसम्मृद्धि पनि बढ्ने छ । पारिवारिक जीवन अति सुखद रहने छ । बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । सृजनात्मक क्षमताको प्रस्फुटन हुनाले कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा प्रशंसा प्राप्त हुनसक्छ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनेछ । पुराना साथीभाइ र सहयोगीहरूसँग भेटघाट हुनेछ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १७, १८, १९, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । यद्यपि प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । राशिस्वामी बुध महिनाको पूर्वार्द्धमा पाँचौं भावमा र त्यसपछि छैटौं भावमा रहने हुँदा विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ । यो समय प्रणय र रोमान्सका लागि पनि राम्रै छ । सृजनशीलताको प्रशंसा र सराहना हुनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ । मित्र र शुभचिन्तकले पूर्ण सहयोग गर्नेछन् । महत्त्वपूर्ण व्यक्तिहरूसित सम्पर्क बढाउनु हुनेछ । एउटा स्मरणीय यात्रा हुने सङ्केत पनि छ । चौथो शुक्रको प्रभावले परिवारमा एक किसिमको जमघट र रमाइलोको वातावरण सिर्जना हुनेछ । सामान्यतया यस महिनाको ०१, ०२, १०, ११, १२, १९, २०, २१, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्तिक महिना कडा मिहिनेत र परिश्रम गर्ने समय हो । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । दुर्घटनाको सामान्य सम्भावना छ, त्यसैले सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । तर पञ्चमेश मङ्गलको प्रभाव अनुकूल देखिन्छ । नातागोता, खासगरी दाजुभाइका कारण खुसीको वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । शत्रु र प्रतिस्पर्धीले सामना गर्न सक्दैनन् । त्यस्तै नवमेश बृहस्पतिको प्रभावले घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ । तर राहु राशिमा रहेकाले अनावश्यक डरले सताउन सक्छ । हडबडी र शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ मिल्नेछैन । सामान्यतया यस महिनाको ०३, ०४, १२, १३, १४, २१, २२, २३ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यका दृष्टिकोणले यस अवधिभरि राम्रै छ । नवमेश मङ्गलको प्रभावले मानसिक तनाव बढ्नसक्छ । झैझगडा र वादविवादमा नफँस्दा उचित हुनेछ । मुखलाई नियन्त्रणमा राख्नु बेस हुनेछ , नत्र अप्ठ्यारामा पर्न सकिन्छ । व्यापारमा घाटा हुने वा धनमाल हराउने÷ चोरी हुने सङ्केत पनि छ । तर बृहस्पतिको प्रभाव शुभ नै रहने छ, आत्मविश्वास बढ्ने छ । सामाजिक क्षेत्रमा वर्चस्व स्थापित हुनेछ । कुनै मान्यजनबाट साथसहयोग प्राप्त हुनेछ । सानातिना रोगव्याधिको प्रकोप भने देखिन सक्छ । को सङ्केत पनि छ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १५, १६, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सूर्यको प्रभावले पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, तर घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । आर्थिकपक्षमा उतारचढाव आइरहने छ । त्यसैले दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ, । तर दोस्रो भावमा राशिस्वामी बुधको समेत उपस्थिति भएकाले व्यावसायिक कारोबारबाट लाभ नै मिल्नेछ । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । परिवारका सदस्यहरू सकारात्मक हुनेछन् । लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । भ्रमणबाट समेत लाभ हुनेछ । दार्शनिकता प्रति झुकाव बढ्ने छ र स्वभावमा गम्भीरता प्राप्त हुनेछ । रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्ने छ । भाग्येश शुक्र आफ्नै राशिमा रहेकाले दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । ललितकला, सङ्गीत एवं साहित्यमा रूचि जाग्ने छ । सानातिना रोगले अस्वस्थ तुल्याउन सक्छ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १७, १८, १९, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् ।
कृष्णप्रसाद काेर्इराला

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

राशिमा सूर्यले प्रवेश गरेको छ, त्यस्तै महिनाको पूर्वार्द्धमा बुध पनि राशिमा नै रहने छ, अतः यो महिना धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । राशिस्वामी शुक्र बाह्रौं भावमा छ, यसको प्रभावले सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । भौतिक सुखसुविधाका सामाग्री किनमेल गर्न धनखर्च हुनेछ । उच्चकोटिको दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ, तथापि आफ्नो भोगवृत्तिमा अङ्कुश लगाउँदा राम्रो हुनेछ, नत्र आनन्द प्राप्त गर्नुको सट्टा झमेला ब्यहोर्नु पर्ने हुनसक्छ । स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ । सामान्यतया यस महिनाको ०१, ०२, १०, ११, १२, १९, २०, २१, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कर्मेश सूर्य बाह्रौं घरमा आइपुगेका यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । तर राशिस्वामी मङ्गलको शुभ प्रभाव देखिन्छ, मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । आय आर्जनका मार्गमा बढोत्तरी हुनेछ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । आफ्नै राशिमा रहेको शनिश्चरको प्रभावले काममा बाधा आउने र ढिलो हुने सम्भावना छँदैछ । कहिलेकाँही असुरक्षाको हीनभावनासमेत विकसित हुन सक्छ । सामान्यतया यस महिनाको ०३, ०४, १२, १३, १४, २१, २२, २३ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा कार्तिक महिनाको आगमन भएको छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफल हुनेछ । पञ्चमेश मङ्गलको पनि शुभ फल मिल्नेछ, लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको विस्तार हुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । तर राहु आठौं घरमा रहेकाले मनमा टुसाएको भ्रमले भयङ्कर मनोविकृतिलाई निम्त्याउन सक्छ, सचेत हुनुपर्छ । स्वास्थ्यमा सामान्य प्रतिकूलताका लक्षणहरू देखिनसक्छन् । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १५, १६, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

भाग्येश बुधले महिनाको उत्तरार्द्धमा कर्मक्षेत्रमा उपस्थिति जनाउने हुँदा अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्मक्षेत्रको परीक्षणको समयका रूपमा कार्तिक महिना उपस्थित भएको छ । वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । राशिस्वामी शनिश्चर राज्यस्थानमा रहेकाले नयाँ काम र उद्यम सुरु हुनेछ । मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । व्यापारका माध्यमबाट लाभ पाइने छ । निकटतम नातेदारका बारेमा कुनै राम्रो खबर प्राप्त हुन सक्छ । टाढा बसेका व्यक्तिहरूसित राम्रो सम्बन्ध कायम हुनेछ । प्रणय सम्बन्धका लागि पनि राम्रो समय छ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १७, १८, १९, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

भाग्यस्थानमा रहेको सूर्यले मिश्रित प्रभाव प्रदान गर्नेछ, तर साथमा शुक्र र बुधको समेत मिलन हुने भएकाले समग्रमा यो महिना लाभकारी नै रहने देखिन्छ । वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यवसाय वा पेसामा राम्रो उपलब्धी हासिल हुनेछ । यात्राबाट निश्चित लाभ प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । अचानक धनलाभ हुने सम्भावना छ । तर खर्चको मात्रामा पनि बृद्धि हुनेछ । परिजनसँग कहिलेकाँही मतभेद पनि हुन सक्छ । यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठिक हुन्छ । सामान्यतया यस महिनाको ०१, ०२, १०, ११, १२, १९, २०, २१, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अधिकतम ग्रहहरू अष्टम भावमा रहनाले त्यति सकारात्मक महिना देखिंदैन । अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । लामो समयसम्म अस्वस्थ हुने आशङ्का छ त्यसैले खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । तर सातौं भावमा रहने मङ्गल र शुक्रको प्रभाव केही हदमा सकारात्मक रहने छ, विपरीत लिङ्गीबाट सहयोग जुटाउन सकिने छ । गीतसङ्गीत एवं अन्य ललितकलाका विषयहरूमा र सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्ने छ । मिलनसार स्वभावको विकास हुनेछ र प्रतिष्ठित व्यक्तित्वको सम्पर्कमा भइने छ । सामान्यतया यस महिनाको ०३, ०४, १२, १३, १४, २१, २२, २३ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।